सचिन तेन्दुलकर








‘मैले आफूलाई आजसम्म कसैसंग दाँजेर हेरेको छैन’

परिचय:-
सचिन तेन्दुलकर भारतीय क्रिकेट खेलाडी हुन् । सोह्र वर्षको उमेरबाट क्रिकेट खेल्न लागेका उनि क्रिकेटका बादशाह मानिन्छन् । विश्वको खेल जगतमा आफ्नो स्थान बनाउन सफल उनको जन्म सन् १९७३ अप्रिल २४ मा भएको थियो ।

प्रारम्भिक जीवन:-
सचिन तेन्दुलकरको जन्म भारतको मुम्बई सहरमा भएको हो । उनका बुवा लेखक तथा अध्यापक थिए भने आमा इन्सुरेन्स कम्पनिमा काम गर्थिन् । मध्यम परिवारमा जन्मिएका उनि चार सन्तान मध्ये सबै भन्दा कान्छा हुन्। सानो उमेरमा उनि झगडिया खालको थिए । झगडिया बानी छुटोस् भनेर सचिनका दाईले प्रशिक्षक रमाकान्त अक्रेकरको एकेडेमीमा भर्ना गरिदिए । पहिलो पटक ब्याट लिंदा सचिन एघार वर्षका थिए । स्कुलको पढाईमा औसत उनि खेलमा अब्बल ठहरिन थाले । प्रशिक्षक अक्रेकरकै सुझाव अनुसार सचिन शारादाश्रम विद्यामन्दिरमा भर्ना भए जहाँ क्रिकेट खेललाई महत्व दिईन्थ्यो । अन्तर स्कुल प्रतियोगितामा सचिनले साथी विनोद काम्बिल संगको साझेदारीमा ६६४ रन बनाएका थिए। स्कुल पछि उनि आफ्ना बाबुले पढाउने कृति कलेजमा भर्ना भएका थिए।

खेल यात्रा:-
सन् १९८८ मा सचिन तेन्दुलकर मुम्बईको लागि खेलेका थिए जसमा उनले सेन्चुरी बनाए र उनको यो पहिलो ठूलो खेल थियो । त्यस सिजनमै सचिन सबै भन्दा बढी रन बनाउने खेलाडी बने । उक्त खेलले आफ्नो प्रभाव जमाउन सफल भएका सचिन लगत्तै राष्ट्रिय टिममा छनोट भए र सन् १९८९ मा १६ वर्षको उमेरमा पाकिस्तान विरुद्ध इन्टरनेशनल टेस्ट खेले । त्यसै वर्ष वान डे इन्टरनेशनल समेत खेलेका उनले धेरै रन बनाउन नसकेतापनि ब्याटिंग टेक्निकले सबैलाई आकर्षित गरे । सन् १९९१/९२ को अष्ट्रेलिया टुरमा सचिनले अष्ट्रेलियाका राम्रा खेलाडीहरुको सामना गर्दै एक खेलमा १४८ र अर्को खेलमा ११४ रन बनाएका थिए । यो प्रदर्शन पछि सचिन बेलायतको योर्क्सायर क्लबमा अनुबन्ध हुने अवसर पाउने पहिलो अन्तरराष्ट्रिय खेलाडी बने । भारतमा उनको नाम कान्छो खेलाडीको रुपमा फैलियो र एक राष्ट्रिय स्तरको पत्रिकाले उनको बारेमा लेख्दै ‘द लास्ट हिरो’ उपमा दिएको थियो । सन् १९९४ मा न्युजिल्याण्ड संग भएको वान डे इन्टरनेशनल खेलमा ४९ बलमा ८२ रन बनाएर सबैलाई चकित पारे । त्यस्तै सन् १९९८मा भएको अष्ट्रेलियासंगको खेलमा सचिनले दरिलो प्रस्तुति दिए । उक्त सिरिजमा उनले दुई शतक बनाएका थिए । सचिनकै कारणले उक्त खेल भारतले जित्यो ।

सन् १९९६ मा नै सचिन तेन्दुलकरले क्याप्टेन हुने मौका पाएका थिए । तर राम्रो प्रस्तुति दिन नसकेपछि १९९७ मा क्याप्टेन्सीबाट बाहिरीए त्यसपछि फेरी उनले १९९८ मा क्याप्टेन हुने अर्को मौका पाए तर त्यतिबेला पनि राम्रो प्रदर्शन गर्न नसकेका कारण १९९९ मै क्याप्टेन्सीबाट बाहिरीए । उनको लगातारको मेहनतले उनको खेलमा निखारता थपिदै गयो र भारत धेरै फाइनल खेलहरुमा जान सफल भयो । सन् २००३ को विश्वकप खेलमा सचिन तेन्दुलकरकै कारण भारतीय टिम धेरै क्रिकेट प्रेमीहरुको लागि सबै भन्दा मन पर्ने टिम बन्यो । भारतले जित्न नसकेता पनि सचिनले ‘म्यान अफ द टुर्नामेन्ट अवार्ड’ पाएका थिए । त्यसपछि अप्ठ्यारो अवस्थामा गुज्रिरहेका उनले फेरी २००७ मा आफ्नो दरिलो लय समाते । सन् २०११ को विश्वकप भारतले जितेको थियो जसमा सचिनले २ शतक सहित ४८२ रङ बनाएका थिए । वर्ल्ड कपमा उनको त्यो पहिलो जित थियो । सन् २०१३ मा सचिनले खेलबाट सन्यासको घोषणा गरेका थिए।

सफलता:-
सचिन तेन्दुलकर ओडीआईमा डबल शतक बनाउने पहिलो खेलाडी हुन् । त्यस्तै १०० शतक र ३०,००० बढी रन बनाउने उनि एक मात्र खेलाडी हुन्। २०० वटा टेस्ट म्याच खेल्ने उनि एक मात्र खेलाडी हुन् । राजीव गान्धी खेल रत्न, भारत रत्न सहित सचिनले थुप्रै अवार्डहरु जितेका छन् । आफ्नो जादुमयी खेल कौशलले भारतलाई क्रिकेटको क्षेत्रमा नयाँ उचाईमा पुर्याएका उनको जीवनमा आधारित चलचित्र समेत बनेको छ । सचिन तेन्दुलकर अहिले विभिन्न कार्यक्रम मार्फत समाजसेवामा समेत जुटिरहेका छन् ।

संसारका हरेक प्राणीका आफ्ना आफ्नै विशेषता हुन्छन्। मानिसका पनि प्रत्येकका आफ्ना आफ्नै गुण हुन्छन् । समान काम वा क्षेत्रमा लागेको मानिसको पनि काम गर्ने शैली र विचार फरक-फरक हुन्छ । त्यसैले अरुबाट राम्रो कुरा ग्रहण गर्नुपर्छ तर प्रतिस्पर्धा अरुसंग होईन , हिजोको आफूसंग गर्नुपर्छ । अरुलाई जित्छु भन्ने भावना होईन की आफूमा निखार ल्याउँछु भन्ने भावना जागृत हुनु आवश्यक छ । यही भावनाले अगाडी बढेकोले गर्दा नै सचिन तेन्दुलकर क्रिकेटका उत्कृष्ट खेलाडी बनेर संसारभर छाएका छन् । 

Comments

Popular Posts